Advertisement Advertisement

वर्ष २०८० डिफेण्डर अनन्त तामाङका लागि विशेष रहृयो । अनन्त तामाङले नेपाली फुटबलमा एकै वर्ष दुई उपाधि र दुई मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) समेत हात पारे ।

शनिवार ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग २०२३ को उपाधि जितेपछि उनले एकै वर्ष शहीद स्मारक ए डिभिजन लिग र एनएसएलको उपाधि उचाले । त्यति मात्र होइन दुवै पटक लिग जित्दा उनी टिमको कप्तान थिए ।

लिगको उपाधिसँगै व्यक्तिगत रुपमा प्रदान गर्ने ठूलो अवार्ड मोस्ट भ्यालुएबल प्लेअरको अवार्ड समेत जितेपछि उनले यो जित आफ्ना लागि महत्वपूर्ण रहेको बताए । पहिलोपटक एनएसएल उपाधि जितेका उनले पोष्ट म्याच कन्फ्रेन्समा भने, ‘मेरो फुटबल जीवनमा यो उपाधि महत्वपूर्ण छ ।’

वर्षको सुरुवात अर्थात जेठमा अनन्तले चर्च ब्वाइज युनाइटेडबाट ए डिभिजन लिगको उपाधि जितेका थिए । त्यतिबेला पनि उनी टिमका कप्तान थिए र चर्च ब्वाइजलाई शीर्ष श्रेणीमा डेब्यु सिजनमै च्याम्पियन बनाउने महत्वपूर्ण भूमिका खेलेपछि उनले एमभिपीको अवार्ड पनि पाए ।