Advertisement Advertisement

अनुहार र छालामा चमक ल्याउन महंगा सौन्दर्य प्रसाधनको प्रयोग गर्ने धेरै छन् । तर प्राकृतिक रुपमै पनि अनुहार र छालालाई मुलायम र चम्किलो बनाउन सकिन्छ ।यसमा योग एउटा विधि हो । शोधन क्रिया, यौगिक सूक्ष्म, स्थुल व्यायाम, आसन, प्राणायाम, ध्यान र सात्विक खानपानले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउँछ । यस्ता केही योगाभ्यास छन्, जुन नियमित गर्दा अनुहारमा चमक ल्याउन मद्दत गर्छ ।

अनुहारको व्यायाम

अनुहारका विभिन्न भाग गाला, आँखा, जिब्रो, ओठ आदिलाई चलाउने, गालामा हावा भर्ने जस्ता सूक्ष्म व्यायामले अनुहारमा चमक ल्याउँछ ।

सर्वाङ्गासन

सर्वाङ्गासनले अनुहार र टाउकोमा रगतको प्रवाह बढाउँछ । परिणामस्वरूप अनुहारको छालामा निखारता ल्याउँछ । यसले अनुहार डन्डीफोर आउनबाट पनि रोक्छ ।

सर्वाङ्गासन गर्ने विधि : सबैभन्दा पहिले म्याटमा उत्तानो परेर सुत्ने । त्यसपछि बिस्तारै सुरुमा खुट्टालाई ३० डिग्री र ९० डिग्रीमा उठाउने । पछि बिस्तारै पूरै जीउलाई माथि उठाउने । त्यसपछि हातले पछाडि कम्मरमा समातेर जीउलाई माथि उठाउने । खुट्टालाई माथि लगेर अड्याइराख्ने ।

सुरुमा यसलाई दुई मिनेटसम्म गर्न सकिन्छ । अनुहारको चमकका लागि अलि बढी अड्याएर बस्नुपर्ने हुन्छ । तर गर्दन दुख्ने, कान दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या भएकाले यो आसन गर्नु हुँदैन ।

अभ्यास गर्दा कुहिनोलाई भुईंमा र हात कम्मरमा राखेर आफ्नो ढाड र खुट्टा सीधा राख्नुपर्छ । शरीरको सम्पूर्ण तौल काँध र हातको माथिल्लो भागमा कायम गर्ने, त्यसपछि एक-दुई मिनेट अड्याएर राख्ने । बिस्तारै सास लिंदै छोड्दै यही स्थितिमा रहने । यसको अभ्यासपछि मत्स्यासन गरेर शरीरलाई सन्तुलनमा राख्नुपर्छ ।

त्रिकोणासन

अनुहारको चमक बढाउन यो अभ्यास पनि निकै महत्वपूर्ण मानिन्छ । अनुहार र टाउकोको रक्तसञ्चारमा यसले सहयोग गर्छ ।

त्रिकोणासन गर्ने विधि : पहिला सीधा बस्ने, त्यसपछि खुट्टा जति सकिन्छ त्यति फट्टाउने । त्यसपछि दायाँ हातले बायाँ खुट्टाको औंला वा पैताला छुने । खुट्टा छुँदा घुँडा सकेसम्म नखुम्च्याइकन सीधा राख्ने । बिस्तारै उठ्ने, पुन: बायाँ हातले दायाँ खुट्टा छुने । फेरि सीधा हुने । यसरी ५–५ पटकसम्म यो आसन गर्न सकिन्छ । तर कम्मर दुख्ने समस्या भएका र गर्भवती महिलालाई यो आसन लाभदायक हुँदैन ।

भुजंगासन

ढाड र काँधमा देखिने कडापन घटाउन भुजंगासनले मद्दत गर्छ । यसले पाचनप्रणाली बलियो बनाएर पेटलाई सफा राख्न मद्दत गर्छ । यसले आराम दिएर मानिसको मनोदशालाई राम्रो बनाउँछ र अनुहारलाई पनि सुन्दर बनाउँछ ।

भुजंगासन गर्ने विधि : भुईंमा म्याट ओछ्याएर घोप्टो सुत्ने । त्यसपछि खुट्टा सीधा जोडैर राख्ने । त्यसपछि छातीको दायाँबायाँ हातले टेक्ने । त्यसपछि बिस्तारै सास लिंदै छातीलाई माथि उठाउने र एकछिन रोकिएर बस्ने । त्यसपछि सास छाड्दै छातीलाई तल ल्याउने । सुरुमा ५ देखि १० पटकसम्म भुजंगासन गर्न सकिन्छ ।

शीर्षासन

यो आसनले पनि टाउकोमा रक्तसञ्चार बढाउँछ । दिमागमा रगतले अक्सिजन राम्रोसँग पुर्‍याउँछ,  जसले तनाव र थकान हटाएर अनुहारमा चमक ल्याउँछ ।

शीर्षासन गर्ने विधि : म्याट ओछ्याएर टाउकोले टेकेर खुट्टा माथि लैजाने । यो एकैचोटि गर्न नसकिने भएकाले सुरुसुरुमा भित्तामा आड लगाएर गर्न सकिन्छ ।

योगको एक पक्ष मात्र होइन समग्र पक्षलाई ध्यान दिनुपर्छ । दैनिक नियमित ध्यान गर्दा पनि मन शान्त  र तनावमुक्त हुन्छ । यसले स्वत: अनुहार चम्किलो हुन्छ । मानिसको मानसिक र भावनात्मक असर अनुहारमा पर्छ । केही कुराले ठेस पुग्दा मानिसको अनुहारको प्रतिक्रिया नै फरक हुन्छ । कोही निराश हुँदा अँध्यारो अनुहार भयो पनि भन्ने गरिन्छ ।

मानिस रिसाउँदा अनुहारको चमक हराउँछ भने हाँस्दा वा खुसी हुँदा चमक आउँछ । अनुहारमा प्राकृतिक चमक र निखारता ल्याउन शरीर स्वस्थ हुन जरुरी हुन्छ । साथै सात्विक आहारले मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न मद्दत गर्छ । यसले पनि छाला र अनुसार चम्किलो बनाउँछ । हरियो तरकारी, फलफूल, रेसादार खानेकुरा खाने, उचित मात्रामा पानी पिउने र राम्ररी निदाउने गर्दा पनि अनुहारमा चमक बढ्छ र सुन्दरतामा वृद्धि हुन्छ ।