Advertisement Advertisement

तिलोत्तमा — नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन विद्युत बक्यौताको नाममा उद्योगको विद्युत लाइन काट्न थालेको भन्दै भैरहवा क्षेत्रका २१ वटा उद्योगका सञ्चालकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले उद्योग नै बन्द गरी संयुक्त रुपमा आन्दोलन सुरु गरेका हुन् ।यस क्षेत्रका कुनै पनि उद्योगले डेडिकेटेड र ट्रंकलाइनको माग नै नगरेको र विद्युत प्राधिकरणले ट्रंकलाइन बापतको बक्यौता छुट बिल भन्दै जबरजस्ती असुल्नका लागि उद्योगको लाइन काट्न थालेको व्यवसायीको आरोप छ ।

कुनै उद्योगले ट्रंकलाइन वा डेडिकेटेड विद्युत लाइनको माग गरी प्रयोग गरेको भए विद्युत प्राधिकरणले स–प्रमाण असुली गर्न सक्ने उनीहरुले बताए । भैरहवा–बुटवल ओद्यौगिक करिडोर अन्तर्गत ट्रंकलाइन विवादमा परेका १९ वटा र लुम्बिनी औद्यौगिक करिडोरका दुई उद्योग गरी २१ वटा उद्योग संचालक र उद्योगमा कार्यरत सयौं कर्मचारीले आइतवार बिहान भैरहवास्थित नेपाल बिद्युत प्राधिकरणको बितरण केन्द्र गेट अगाडि एक घण्टा धर्ना दिंदै आन्दोलनको सुरु गरेको घोषणा गरे ।उनीहरुको आन्दोलनलाई स्थानीय उद्योग वाणिज्य संघ, उद्योग परिसंघ लगायतका औद्योगिक तथा व्यवसायिक संघसंस्थाले साथ दिएका छन् । प्राधिकरणले त्यस करिडोर अन्तर्गत रहेको सिद्धार्थ पेट प्लाष्ट र घराना फुड्स प्रालिको बिद्युत लाइन गत पुस १३ गते काटेपछि गत बुधवार ट्रंकलाइन विवादमा परेका अन्य १७ वटा उद्योग समेतले संयुक्त रुपमा प्राधिकरणको भैरहवा र नयाँ मिल बितरण केन्द्रमा संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै बिना शर्त जडान गरिनुपर्ने माग राखेका थिए ।