Advertisement Advertisement

 प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो। विजेता एपीएफ क्लबले पाँच लाख तथा उपविजेता कोशीले तीन लाख पुरस्कार प्राप्त गर्‍यो। यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले सात विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो। एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्। उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन्। सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन्। त्यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन्। 

बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन्। उनले २०औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन्। पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन्। त्यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक-एक विकेट लिइन्। त्यस्तै कोशी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अर्धशकतीय पारी खेलिन्। उनले ६२ रन बनाइन्। क्षेत्रीले ५८ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठले २९ बलमा २२ रन बनाइन्। बलिङतर्फ एपीएफ क्लबका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिइन्।

रुविना सर्वोत्कृष्ट खेलाडी
प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्म्पन्न खेलमा कप्तान क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन्। उनले स्कुटर पुरस्कार प्राप्त गरिन्। त्यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदियमान खेलाडी घोषित भइन्। उनले उपाधिसहित ५० हजार बराबरको क्रिकेट सामग्री प्राप्त गरिन्। प्रतियोगितामा मधेस प्रदेशकी पूजा महतो उत्कृष्ट बलर छनोट भइन् भने गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाइन्। दुवैजनाले जनही ५० हजार पुरस्कार प्राप्त गरे।