Advertisement Advertisement

विश्वका विभिन्न मुलुकसँगै छिमेकी भारत र चीनमा समेत कोरोना संक्रमण बढिरहेका बेला नेपालमा भने इमर्जेन्सी परीक्षणका लागि समेत पीसीआर र एन्टिजेन किट छैनन् । पछिल्लो समय भारतका विभिन्न क्षेत्रबाट घर फर्किने ९ जना नेपाली र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले बढ्दो संक्रमणलाई मध्यनजर गरेर सरकारले भारतबाट नेपाल प्रवेश बिन्दुका सम्पूर्ण १४ वटा हेल्थ डेक्समा निगरानी थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सबभेरिएन्ट जेएन.१ नेपालमा पुष्टि भइनसके पनि छिमेकमा संक्रमण फैलिरहेकाले सतर्कता अपनाउन अनुरोध गरिरहेको छ ।यस्तो अवस्थामा नेपाल सरकारसँग परीक्षण किटसमेत छैन । टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय भन्डारमा किट नभएपछि इमर्जेन्सी केसका लागि आवश्यक पर्ने पीसीआर र एन्टिजेन्ट किट खरिद गर्न स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई पत्राचार गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्तचन्द्र ओझाले बताए । ‘प्रदेशको आपूर्ति केन्द्रहरूलाई पनि आपत्कालीन अवस्थालाई मध्यनजर गरेर खरिद गर्न अनुरोध गरिसकेका छौं,’ उनले भने ।स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले इमर्जेन्सी केसका लागि पुग्ने मात्रामा खरिद गर्न छलफल भइसकेको दाबी गरे । ‘खरिद गरेर मात्र पनि हुँदैन । धेरै स्टक भएमा पछि महालेखा नियन्त्रकको कार्यालयले प्रश्न गर्छ,’ उनले भने, ‘एन्टिजेन किटहरू आवश्यक परेमा पालिकाहरूले पनि खरिद गर्न सक्छन् ।’