Advertisement Advertisement

बागलुङ — बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं बागलुङ महोत्सवमा आइतबार खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जैमिनी नगरपालिकाले विजयी सुरुवात गरेको छ ।

 महोत्सवमा जिल्लाको स्थानीय पालिकास्तरीय भलिबल प्रतियोगितामा आयोजना गरिएको छ । आइतबारको पहिलो खेल जैमिनी नगरपालिकाले ताराखोला गाउँपालिकालाई सोझो दुई सेटमा जित हात पारेको हो । जैमिनीले २५–१२ र २५–२२ को सोझो सेटमा ताराखोलालाई हराएको हो । त्यसअघि यहाँको धौलागिरि बहुमुखी क्यामप्स र तित्याङ खेलकुद समितिबीच मैत्रीपूर्ण भलिबल खेल पनि भएको थियो ।

खेलका बाँकी सबै इभेन्ट सोमबारदेखि मात्रै सुरु हुनेछन् । महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार नगद पुरस्कारको समेत व्यवस्था छ ।

महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, स्थानीय, घरेलु तथा लघु उद्योगका उत्पादनको प्रर्दशनी समेत राखिएको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण समेत गर्न महोत्सव आयोजना भएको हो ।