Advertisement Advertisement

काभ्रेको भुम्लु गाउँपालिकामा दलितसँग बिहे गरेको भन्दै पुरेत नआएपछि पितृ कार्य (श्राद्ध) रोकिएको छ । भुम्लु–२, सिमथलीका धर्मध्वज भण्डारीले दलित महिलासँग विवाह गरेकै कारण उनको घरमा गर्नुपर्ने पितृ कार्यका लागि पुरेत नआएको परिवारको आरोप छ ।भण्डारीले लगाउँदै आएका पुरेत माधवराज न्यौपानेले घर चोख्याएर मात्र श्राद्ध गर्नुपर्ने भन्दै तिथिको दिन श्राद्ध नगरिदिएको भण्डारी परिवार बताउँछ । दलित महिला विवाह गरेर भण्डारीको घर अछुतो भएकाले सो घरमा पस्न र खान नहुने भन्दै पुरेत न्यौपानेले श्राद्ध गर्न नमानेको पीडित परिवारको भनाइ छ ।बिहीबार पुस शुक्ल पूर्णिमा तिथिका दिन भण्डारीका बुबा राम बहादुरको तिथि परेको थियो । भण्डारीले पुरेतलाई अघिल्लो दिन नै खबर गरेका थिए भने श्राद्धको सम्पूर्ण तयारी भइसकेको थियो ।

तर, श्राद्ध गर्न उनका पुरेत माधवराज न्यौपाने आएनन् । श्राद्धका लागि अघिल्लो दिन एक छाक खाएर बसेका भण्डारी र भण्डारीकी आमा गंगादेवी श्राद्ध गर्न बिहीबार राति ९ बजेसम्म पुरेत कुरेर बसे । तर, पुरेत नआएपछि उनीहरु खाना खाएर सुतेका थिए । पुर्यौली पुरेतका रुपमा न्यौपानेले विगतदेखि नै भण्डारीको घरमा विभिन्न कार्य गर्दै आएका थिए । भण्डारीका अनुसार विगतमा न्यौपानेका पिता बालकृष्ण न्यौपानेले सो घरमा पुरेत्याइँको काम गर्दै आएका थिए । बालकृष्ण न्यौपाने अशक्त भएपछि भने सो काम उनका छोरा माधवराजले सम्हाल्दै आएका थिए । उनले नभ्याएको अवस्थामा आफ्नो नातामा पर्ने अर्का पुरेतलाई कार्य गर्न पठाउने गर्थे । तर बिहीबार गाउँमै रहँदा पनि उनी न श्राद्ध गर्न भण्डारीको घरमा पुगे, न भ्याउँदिन भने, न त सट्टामा अर्को पुरेत नै पठाए ।

२०७७ मा भण्डारीको बुबाको निधन भयो । उनको निधन पछिका सम्पूर्ण जजमानी काम न्यौपानेले नै गरेका थिए । २०७८ मा भण्डारीको बुबाको वार्षिक कार्य, २०७९ मा भण्डारीको बुबाको पहिलो तिथिमा श्राद्ध पनि उनले नै गरेका थिए ।भण्डारी पेसाले ड्राइभर हुन् । उनी काठमाडौँमा बसेर गाडी चलाउँदै आएका छन् । कार्य व्यस्तताका कारण उनी अघिल्लो वर्ष बुबाको श्राद्धमा सहभागी हुन सकेनन् ।

यस पटक भने ड्राइभिङ पेसा छोडेर गाउँमै कृषि कार्य गर्दै आएका भण्डारीले बुबाको श्राद्ध गर्ने तयारी गरेका थिए । तर, २०७९ असार २२ मा भण्डारीले भुम्लु–२ की देवकी विश्वकर्मासँग प्रेम विवाह गरेका थिए । पारिवारिक सहमतिमै उनीहरुको बिहे भएको थियो । २ परिवारले सहजै स्वीकारेको उक्त विवाह समाजले भने सहज रुपमा लिन सकेन ।स्नातक तह उत्तीर्ण गरेकी विक पेसाले शिक्षिका हुन् । उनी स्थानीय बाल उन्नति आधारभूत विद्यालयको प्रध्यानाध्यापक हुन् । २०६३ सालदेखि उनी सो विद्यालयमा सेवारत छिन् ।२०७६ मा शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति लिएर अध्यापन गराउँदै आएकी उनले नेपाली विषय पढाउँछिन् ।

श्रीमतीको विद्यालय र आफ्नो कृषि पेसा व्यवसायका कारण भण्डारी गत एक वर्षदेखि अलग्गै बस्दै आएका थिए । उनीहरु घरबाट करिब २ घण्टाको दूरीमा रहेको विद्यालय नजिकै जग्गा भाडामा लिएर बाख्रा फर्म सञ्चालन गर्दै आएको स्थानमा बस्दै आएका छन् ।

घरमा भने भण्डारीकी आमामात्र बस्छिन् । भण्डारीका भाइ सुरेन्द्र बनेपा, बुडोलमा बस्दै आएका छन् । आमा भेट्न र आवश्यकता अनुसार फार्मबाट बेलाबखत घर गएर बस्ने गरेका थिए भण्डारी दम्पती ।अघिल्लो वर्ष कान्छोले श्राद्ध ग¥यो, केही भएन । अहिले घरमै श्राद्ध गर्न जेठो छोरोले तयारी गरेको थियो तर पुरेत आएनन् । छोरोले दलित बिहे गरेर हामी अछुतो भयौँ रे,’ भण्डारीकी आमा गंगादेवीले भनिन् ।पुरेतले त्यो घरमा श्राद्ध गर्न मिल्दैन, आफन्तको वा कान्छाको घरमा गर्ने भए आउँछु भनेर शर्त राखेको आफूले ढिलोगरी थापा पाएको उनले सुनाइन् । ‘हामीले राति ९ बजेसम्म कु¥यौँ तर पुरेत नआएपछि खाना खायौँ,’ उनले भनिन् ।भण्डारीकी श्रीमती विकका अनुसार पुरेत न्यौपाने बुधबारदेखि नै भण्डारीको गाउँमा आयोजित धार्मिक कार्यक्रममा सहभागी थिए । बाहुन क्षेत्री, पहरी र तामाङ बस्ती रहेको भुम्लुको उक्त वडामा आफ्नो विवाहपछि समाजले गर्ने व्यवहारमा समेत परिवर्तन आएको उनले बताइन् । 

तर पुरेत न्यौपाने दलित महिलासँग विवाह गरेकै कारण श्राद्ध गर्न नगएको भन्ने कुरा सत्य नभएको दाबी गर्छन् । यस्ता कुरा निकालेर आफूमाथि आरोप मात्र लगाइएको उनको भनाइ छ ।आफू बिरामी भएको र काठमाडौँमा बस्दै आएकाले गाउँतिर भनेको समयमा जान सक्ने अवस्था नरहेको उनले बताए । यही कारण आफूले धेरै जजमानी छाडिसकेको उनको भनाइ छ ।‘म काठमाडौँ बस्छु । सञ्चो पनि छैन । कसरी गाउँ जानु र ? त्यो आरोपमात्र हो,’ उनले भने, ‘उहाँलाई म भ्याउँदिनँ भनेको थिएँ । १÷२ वर्षदेखि नै उहाँहरुले अरु नै खोजेर लगाइरहनु भएको थियो । उहाँको बुबाको वार्षिकी मैले गरिदिएको हो, त्यसपछि मैलै केही गरिदिएको छैन ।’

आफन्तको विवाह परेर आफू अमेरिका जान लागेको उनले सुनाए । ‘मैले जजमानी कार्य गर्दै आएको ५०० घर सबै छोड्दै आइसकेको छु,’ उनले भने ।