Advertisement
Advertisement

नेपालमा पहिलोपटक शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रिन हाइड्रोजन उत्पादन सुरु भएको छ ।
काठमाडौं विश्वविद्यालय (केयू)को ग्रिन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलस्थित स्टेसनबाट आइतबारदेखि ग्रिन हाइड्रोजन उत्पादन भएको हो ।

विश्व बजारमा ग्रिन हाइड्रोजन उदायमान ऊर्जा हो । बढ्दो जलवायु परिवर्तनका कारण शतप्रतिशत स्वच्छ ऊर्जा मानिने ग्रिन हाइड्रोजनको महत्व र प्रयोग गर्नुपर्ने दबाब बढ्दो छ । नेपालमा भने यो पूर्णतः नयाँ प्रविधि हो । मुख्यतः बिजुलीले पानीलाई टुक्र्याएर हाइड्रोजन उत्पादन गरिन्छ ।

केयुका अनुसार एक केजी हाइड्रोजन बनाउन ५० युनिट बिजुली र १० किलोग्राम पानी चाहिन्छ । त्यसअनुसार एक केजी हाइड्रोजन बनाउन चार सय रुपैयाँबराबर (प्रतियुनिट आठ रुपैयाँका दरमा) को बिजुली चाहिन्छ । पानी र श्रमशक्ति गरेर पाँच सय रुपैयाँमा एक केजी ग्रिन हाइड्रोजन निकाल्न सकिन्छ, त्यसबाट साना गाडी सय किलोमिटरसम्म गुडाउन सकिन्छ । सामान्यतः यो पेट्रोलियम गाडीमा हुने खर्चभन्दा कम हुन्छ ।