Advertisement Advertisement

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो।

यस उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ । पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो । उपविजेता बनेको धनगढीले रु २० लाख पायो । ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे।

यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी एक गोल गरे । खेलमा ३७औँ मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गर्दै पहिलो अग्रता लिए।

खेलको पहिलो हाफको अत्तिरिक्त समयमा ललितपुरका इमोह इजेकेलले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरला अग्रता दिलाए।

खेलको ५८ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ अग्रता बनाउँदै टिमलाई जिततर्फ अगाडि बढाए।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो ।