Advertisement Advertisement

खोटाङ — महिला हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ३६ वर्षीया पवित्रा तामाङको हत्या अभियोगमा सोही नगरपालिकाको वडा नं. १२ जालपाका ३३ वर्षीय दिपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना राई पक्राउ परेका हुन् ।प्रहरीले उनीहरुलाई काठमाडौंको महालक्ष्मी नगरपालिकाको बोजेपोखरीबाट पक्राउ गरेको हो ।गत मङ्सिर १९ गते पत्कर राख्ने गोठमा हत्या गरी फरार श्रेष्ठ र घटनाको मतियारको रुपमा भूमिका निर्वाह गरेको अभियोगमा राईलाई पुस ११ गते काठमाडौंमा पक्राउ गरी प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पुस ३ गते तामाङ हराएको जाहेरी परेको र त्यसपछि खोज्ने क्रममा पत्करभित्र मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।मृतकले लगाएको दुई थान माडबरी (सुन) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीबाट बरामत गरेको डिएसपी खड्काले बताए ।हत्यामा संलग्नहरुबाट दुई थान मोबाइल सिम, दुई थान मोबाइल, हत्यामा संलग्नका ससुराबाट एक थान मोबाइल बरामत गर्नुका साथै घटनास्थलबाट एक थान हथौडा (हम्मर) फेला पारिएको डिएसपी खड्काले जानकारी दिए ।