Advertisement Advertisement

लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटेको प्रति मोरङका निजी क्षेत्रले एक स्वरमा विरोध जनाएका छन् ।

उद्योगहरुमा विद्युत् काट्दा उत्पादन ठप्प भएको र त्यसले रोजगारी, राजस्व तथा बैंक ब्याज भुक्तानी, बजार श्रृङ्‍खला लगायतको क्षेत्रमा नकारात्मक प्रभाव पर्ने निजी क्षेत्रको भनाइ छ ।उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले संयुक्त विज्ञप्ति निकाल्दै विरोध जनाएका हुन् ।विद्युतको लाइन काट्दा औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहँदा समेत सरकारले समस्यालाई गम्भीर रुपमा लिएर समाधानको पहल गर्नुपर्ने उनीहरुको माग छ ।

डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगीहरु बीच हुँदै आएको रस्साकस्सी र आ-आफ्नो अडानका कारण पेचिलो बनेको यो विषयलाई न्यायोचित समाधान खोजिनु पर्ने समेत निजी क्षेत्रको माग छ ।विद्युत् आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको बिजुली अविलम्ब जोडिदिन उनीहरुले माग गरेका छन् ।