Advertisement Advertisement

काठमाडौं । सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य एल वन आफ्नो लक्ष्य नजिक पुगेको छ । प्रक्षेपणपछि चार महिनाको यात्रा तय गर्दै आदित्य एल वन लाग्रेरेन्ज पोइन्ट वन (एल वन) पुग्न लागेको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार यानमा कुनै समस्या नभए आदित्य एल वन आगामी जनवरी ६ मा आफ्नो लक्ष्यको अन्तिम कक्षमा पुग्नेछ । यानले लक्ष्य प्राप्त गर्न पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको एल वनको हलो कक्षमा प्रवेश गर्नुपर्ने हुन्छ, जुन यानको गन्तव्यमा पुग्नअघिको सबैभन्दा चुनौतीपूर्ण भाग हो । 

ल वनको नजिक पुगेपछि यानमा भएको इन्जिन अन्तिम पटक जलाउने इसरोले बताएको छ । यदि यो सफल भएर एल वनमा यान प्रवेश गरे पाँच वर्षभन्दा बढी रहेर आदित्य एल वनले काम गर्ने इसरोको भनाइ छ ।

भारतले आफ्नो पहिलो सूर्य यानका रूपमा गत सेप्टेम्बर २ मा दिन आदित्य-एल वन प्रक्षेपण गरेको थियो । आदित्य-एल वनलाई सूर्य र पृथ्वीको गरुत्वाकर्षण सन्तुलित हुने स्थानमा राख्ने इसराेकाे याेजना छ । 

इसराेका वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा त्यस्ता पाँच स्थान छन्, जसलाई ‘लाग्रेरेन्ज पाेइन्ट’ नामकरण गरिएको छ । तिनै पाँच स्थानमध्ये पृथ्वीबाट सबैभन्दा नजिक रहेको ‘एल वन’मा आदित्य यानलाई राख्ने इसरोको लक्ष्य छ ।

त्यहाँ बसेर आदित्य-एल वनले अन्तरिक्षको मौसम, अन्तरिक्षको हलचल, सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन गर्नेछ ।