Advertisement Advertisement

 नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ ।जिल्ला प्रहरी कार्यालय, पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको काठमाडौं प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

जोशीको घरमा नेचर हब इन्टरनेश्नल प्रा.लि.को कार्यालयसमेत सञ्चालित थियो । त्यहाँबाट पोखरास्थित सूर्यदर्शन सहकारीको सफ्टवेयरसहितका विवरण र अन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी भएको घटनामा संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी छ ।संस्थापक अध्यक्ष राई र पूर्वडीआईजी जोशी व्यवसायिक साझेदार समेत हुन् । अनुसन्धानका क्रममा, जोशीको घरमा सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषयहरु भएको खुलेपछि उनको घरमा छापा मारिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

पूर्व डीआईजी जोशी अवकाशपछि नेटवर्किङ ब्यबसायको साझेदार बनेर जीवी राईको समूहमा पुगेका थिए । उनीहरुको समूहले सुरु गरेको ग्यालेक्सी टीभीमा सुरुवाती समयमा उनी उपाध्यक्ष थिए ।