Advertisement Advertisement

 बागलुङ नगरपालिकाले कुकुरका लागि अब ‘होस्टेल’ बनाउने भएको छ । नगरको नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा भेटिने कुकुरको व्यवस्थापनका लागि यो कार्यक्रम गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए ।

मुख्यमन्त्री कार्यालयको साझेदारीमा नगरपालिकाले १ करोड लागतमा होस्टेल बनाउन लागेको हो । बागलुङ नगरपालिका–१३ को कालाखोलामा बनाइने होस्टेलका लागि नगरपालिकाले ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख रुपैयाँ बेहोर्ने सम्झौता भएको छ । चालु वर्षभित्रै कुकुर होस्टेल बनेर सञ्चालनमा आउने छ ।

सामुदायिक कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यो नीति ल्याएको हो । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले गत असारमा ल्याएको नीति कार्यक्रममा कुकुरको व्यवस्थापन गर्ने उल्लेख थियो । सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गर्नु परेको श्रेष्ठको भनाइ छ । कुकुरले टोकेर वर्षमा धेरै जना घाइते भएको, कतिपयलाई रेबिज रोग समेत लागेकाले होस्टेल बनाउन लागिएको उनले बताए ।छाडा कुकुरलाई खोप लगाएर होस्टेलमा राखिनेछ । कसैले पाल्न चाहेमा नगरको अनुमतिले लैजान सक्नेछन् । सबै कुकुरको तथ्यांक राख्ने नगरपालिकाले मृत्युपछि लगत कट्टा गर्ने व्यवस्था पनि गरेको छ ।

नगरपालिकाले घरघरमा पालिएका र सडक कुकुरलाई रेबिजविरुद्धको खोप समेत दिएको छ । कुकुरका लागि चाहिने सबैखाले औषधि पनि निःशुल्क गरिएको छ । घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधानसमेत नगरपालिकाले बनाएको छ । दर्ता गर्दा २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । दर्ता भएका कुकुरलाई नगरले खोप र औषधि निःशुल्क दिन्छ । त्यस्ता कुकुरको मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले नै गर्ने पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । खोप लगाएका कुकुरलाई घरमा पालेको भए रातो र सामुदायिक भए नीलो पेटी समेत लगाएर पहिचान दिने व्यवस्था सुरु भएको छ ।