Advertisement Advertisement

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालले जनकपुरमा ६ बुँदेमागसहित प्रदर्शन गरेको छ । जनकपुरधामको तिरहुतिया गाछीबाट निस्केको मिटरब्याज पीडितहरुको जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गरेको छ ।प्रदर्शन गर्दै मधेश भवन पुगेर उनीहरु मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको संघर्ष समितिका केन्द्रीय सचिवालय सदस्य आदित्य रामले जानकारी दिए ।

केन्द्रीय प्रवक्ता निर्ग नविनका अनुसार संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा प्रदर्शन र मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो । धनुषा, महोत्तरीसहित प्रदेशका ८ जिल्ला र झापा, मोरंग, सुनसरी, रुपन्देही, कपिलबस्तु, नवलपरासी, काठमाडौंसहित १६ वटा जिल्लाबाट झण्डै ७ हजारको संख्यामा मिटरब्याज पीडितहरु जुलुसमा सहभागी भएका थिए ।